काठमाडौ, माघ ७ -
चिकित्साशास्त्र अध्ययन संस्थानलाई मेडिकल माफिया र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने मागसहित ११ देखि शिक्षण अस्पतालमा अनशनरत प्रा.डा. गोविन्द केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने मंगलबार साँझ बताएका छन् । डा. केसीको समर्थनमा शिक्षण अस्पतालका १ सय ६ चिकित्सकले मंगलबारै सामूहिक राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मंगलबार राति डा. केसीलाई भेटेर अनशन तोड्न आग्रह गरेका थिए । जवाफमा डा. केसीले अनशन तोडेपछि मेडिकल माफियाहरूको चलखेल पुनः हुन सक्ने जनाउँदै डिनको राजीनामा र नयाँ डिन नियुक्ति हुनुपर्ने जनाएका थिए ।
'त्रिविका पदाधिकारीहरू कस्ता छन् तपाईंहरूले बुझ्नुभएको छ, पहिले माग पूरा गर्नुस् अनि अनशन तोड्छु,' डा. केसीले मन्त्रिपरिषद् अध्यक्षलाई भनेका थिए । आफूलाई भेट्न र अनशनप्रति ऐक्यबद्घता प्रकट गरेकामा उनले रेग्मीलाई धन्यवाद दिए । रेग्मी र्फकन लाग्दा त्यहाँ भएका चिकित्सकहरूले 'अनशनको ११ औं दिनसम्म किन सरकार मौन ?', 'राजनीतिक हस्तक्षेप बन्द गर', 'भ्रष्टाचार बन्द गर', 'गोविन्द केसी जिन्दावाद' लगायत नारा लगाएका थिए । रेग्मी करिब आधा घन्टा बसेर फर्केका थिए ।
केसीले मन्त्रिपरिषद् अध्यक्षलाई तत्कालका लागि मेडिकल कलेजलाई सम्बन्धन रोक्ने, स्वायत्त चिकित्सा विश्वविद्यालय बनाउने र हालका डिनले पदत्याग गर्ने र पूर्वडिन डा. प्रकाश सायमीको पुनर्बहाली वा वरिष्ठताका आधारमा अर्को नयाँ डिन नियुक्ति हुनुपर्ने आफ्नो मागका बटमलाइन भएकाले पूरा नभएसम्म अनशन जारी रहने बताएका थिए ।
स्वास्थ्य संस्थाहरू बन्दै ः चिकित्सक संघ
नेपाल चिकित्सक संघले डा. केसी र आफ्नो मागहरू पूरा नभएसम्म मुलुकभरिका स्वास्थ्य संस्थाहरूको आकस्मिकबाहेकको सेवा बन्द नै रहने जनाएको छ ।
'हाम्रो आन्दोलन जारी नै छ,' संघका अध्यक्ष डा.अन्जनी झाले भने, 'कानुनी रूपमा लिखित सम्झौता मात्र भए पनि अनशन टुट्छ, हडताल रोकिन्छ ।'
यसअघि संघले आइतबारदेखि निरन्तर रूपमा देशभरिका सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू पूर्णरूपमा बन्द गर्दै आइरहने क्रम जारी रहने जनाएको थियो । संघले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले दिएको आदेशलाई उच्च सम्मान गर्दै अत्यावश्यक स्वास्थ्य सेवाहरू इमर्जेन्सी सेवाबाटै प्रदान गर्न/गराउन सम्बन्धित सबैमा हार्दिक आह्वान गरेको समेत उल्लेख थियो । अध्यक्ष डा. झाले समस्या समाधानमा सक्रिय तत्परता नदेखाई सरकारबाट बल प्रयोग गर्ने प्रयास भए देशभरिका सबै चिकित्सक र स्वास्थ्यकर्मीहरू सामूहिक राजीनामा दिन बाध्य हुने चेतावनीसमेत दिएका थिए ।
१०६ चिकित्सकले स्वःस्फूर्त राजीनामा दिए
डा.गोविन्द केसीका मागलाई पूरा गर्न सरकारले पहल नगरेको जनाउँदै मंगलबार दिउँसो शिक्षण अस्पतालका १ सय ६ चिकित्सकले स्वःस्फूर्त रूपमा सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा पत्रमा डा. केसीको अनशन ११ दिनमा पुग्दा र मुलुकका १४ हजार चिकित्सकहरू सक्रिय आन्दोलनमा ओर्लेको चार दिन भइसक्दासमेत अमानवीय र गैरजिम्मेवारीपूर्वक त्रिवि कानमा तेल हालेर बसेको जनाइएको छ । उक्त पत्रमा हालको विषम परिस्थितिमा नैतिक, मानवीय र पेसागत मूल्यको आधारमा आफ्नो पदमा रहेर दैनिक कार्यसम्पादन गर्न असमर्थ रहेको समेत जनाइएको छ ।
डा. केसीको मेडिकल माफिया र राजनीतिक हस्तक्षेपविरुद्घको आन्दोलन उत्कर्षमा पुगेका बेला सरकार र त्रिवि षड्यन्त्रको तानाबाना बुन्ने र आन्दोलनलाई छियाछिया पार्ने निर्लज्ज प्रयासमा उत्रेको जनाउँदै यसबाट आफूहरू क्षुब्ध भएको पत्रमा उल्लेख छ ।
राजीनामा पत्रमा त्रिवि र सर्वोच्च अदालतले सेवा सुचारु गर्न दिएको आदेश पालना हुने गरी अस्पताल पूर्ववत् सुचारु पार्न राज्यलाई मार्ग प्रशस्त गर्न सबैले आ-आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको उल्लेख छ । पत्रमा राजीनामासँगै डा. केसीको आन्दोलनमा संलग्न रहनेसमेत जनाइएको छ ।
संस्थानका पदाधिकारीहरूले बुधबार राजीनामा दिने
चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारीहरूले डा. केसीको माग पूरा नभए त्रिवि पदाधिकारीसमक्ष बुधबार राजीनामा पत्र बुझाउने जनाएका छन् । संस्थानका सहायक डिनहरू डा.विमल सिन्हा, डा.शरद वन्त, डा.भरतमणि पोखरेल, डा.सरला श्रेष्ठ, महाराजगन्ज चिकित्सा क्याम्पसका प्रमुख डा.जीवन श्रेष्ठ, सहायक क्याम्पस प्रमुख डा. हरि भट्टराईले बुधबार त्रिविमा राजीनामा बुझाउने जानकारी डा.सिन्हाले दिए ।