काठमाडौ, माघ ५ -
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई सार्वजनिक रूपमै आरोप-प्रत्यारोपमा उत्रिएका छन् । भट्टराईले जारी केन्द्रीय समिति बैठकमा 'शक्ति बाँडफाँड' हुनुपर्ने बताएपछि दाहालले 'बुर्जुवा नैतिकता' देखाएर पार्टी नेतृत्व नछाड्ने जवाफ फर्काएका छन् ।
एकअर्काप्रति अविश्वास बढ्दै जाँदा दुवैले ल्याएका उचित प्रस्तावसमेत स्वीकार गर्न गाह्रो परेको छ । दाहालले निर्वाचनमा पराजयको मुख्य जिम्मा आफूले लिने प्रस्तावसहितको दस्तावेज ल्याउँदा भट्टराईले सुधारवादी भएको टिप्पणी गरे । भट्टराईले रूपान्तरण र शुद्धीकरणको कुरा गर्दा दाहालले पद खोजेको बताए । दुवै नेता शंका र उपशंकाले ग्रस्त भएपछि प्रमुख दलका बैठकमा सँगै जानसमेत छाडेका छन् ।
भट्टराईले नेतृत्व लिन खोजेको भन्दै दाहाल सशंकित भएका छन् भने भट्टराईले मुखै खोलेर दाहाललाई स्टालिनजस्तै निरंकुश हुन खोजेको आरोप लगाएका छन् । फरक मत राख्न खोज्नेलाई दाहालले पेलेको आरोप उनको छ । पार्टीले ठूलो पराजय भोगेका बेला विवाद निकाल्नुको पछाडि षड्यन्त्रको गन्ध आएको दाहाल पक्षको भनाइ छ । 'पार्टीले ठूलो हार खाएका बेला विवाद किन निकालियो ?,' दाहाल निकट एक नेताले भने, 'यसले अध्यक्षलाई झ्न गम्भीर बनाएको छ ।'
पार्टी कमजोर बनाएर आफू बलियो हुन खोजेको भन्दै दाहाल पक्षका नेताहरूले केन्द्रीय समिति बैठकमा भट्टराईलाई 'अराजकतावादी' आरोप लगाउने तयारी गरेका छन् । 'पार्टीलाई अझ कमजोर बनाउने नीति देखिन्छ,' दाहाल निकट नेताको भनाइ छ ।
यसैबीच अध्यक्ष दाहालले सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी नेतृत्व हस्तान्तरण नहुने बताएका छन् । पार्टी समस्यामा परेका बेलामा नेतृत्व परिवर्तन गर्न नहुने उल्लेख गर्दै उनले नेतृत्व हस्तान्तरणको माग जायज नभएको बताए ।
इलामको लारुम्बामा आयोजित किराँत धर्मसम्बन्धी कार्यक्रममा भाग लिन जानेक्रममा आएका दाहालले भने, 'यति बेला पार्टीको नेतृत्व परिवर्तन गर्ने भन्ने कुरा पार्टीलाई अझ नोक्सानी पुर्याउने रणनीति हो । पार्टी हारेका बेलामा नेतृत्वबाट भाग्न मिल्दैन ।' कम्युनिस्ट आन्दोलनमा कुनै एउटा चुनाव हार्दैमा नेतृत्वले राजीनामा दिनुपर्ने आवश्यकता नभएको भन्दै दाहालले बुर्जुवा पार्टीको जस्तो 'तथाकथित नैतिकताको प्रश्न' कम्युनिस्ट पार्टीमा नउठ्ने जिकिर गरे ।
पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार नेता बाबुराम भट्टराईले वैचारिक र सांगठनिक सत्ता एउटै व्यक्तिको हातमा भए निरंकुशता बढ्ने भन्दै शक्ति बाँडफाँडको माग गरेका थिए । आफूलाई स्टालिनसँग तुलना गरेको सन्दर्भमा उनले खण्डन गर्दै स्टालिन शैलीको विपक्षमा आफूले युद्धकालमा ल्याएको दस्तावेज बाबुराम भट्टराई र मोहन वैद्यको सहयोगमा पारित गरेको स्मरण गर्दै अहिले त्यो आरोपमा कुनै सत्यता नभएको दाबी गरे ।
'स्टालिन शैलीको संगठनको विपक्षमा दस्तावेज आएपछि भट्टराई र वैद्यले नै प्रचण्डपथका रूपमा विकसित विचार आएको भन्दै प्रशंसा गर्नेहरूले यति बेला त्यही पुरानो आरोप लगाउनुको कुनै तुक छैन,' दाहालले भने । दाहालले ठूला दलका हैसियतले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए । उनले एमाओवादीले राष्ट्रपति, उपराष्ट्रपति र सरकारका विषयमा कुनै चासो नराखी एक वर्षभित्र संविधान निर्माण गर्नेतर्फ पार्टीको ध्यान केन्दि्रत गर्ने बताए ।